काठमाडौं । कांग्रेस–एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन् ।
सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन गरे । ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।

०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए । र, झन्डै दुईतिहाइनजिकको बहुमत ल्याएर ओली दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री भए । त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो। ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो।

तर, आलोपालोको सहमति कार्यान्वयन भएन। बरु, नेकपाभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुन:स्थापना गरिदियो। लगत्तै, २३ फागुनमा एमाले र माओवादी पूर्ववत् ब्युँतिने फैसला गर्‍यो । त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाए।

ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन् । त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन् । यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए। त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्‍यो । ओली यतिखेर दुई महिना प्रधानमन्त्री भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय