काठमाडाैं । तत्कालिन शिक्षा मन्त्री अशोक राईले गृह जिल्ला जाँदा दुई लाख रुपैयाँ खर्च लिएका छन् । उनी सहित आठ जनाको टोलीले मन्त्रालयबाट २ लाख रुपैयाँ एकै पटक अनुगमन भत्ता बुझेका छन् । मन्त्रालयले सुनसरीमा अनुगमन गएको भनेर भत्ता उपलब्ध गराएको हो । जुन विवरण मन्त्रालयले गोप्य राखेको छ । यो भ्रमण टोलीमा मन्त्री राई, उपसचिव प्रकाश सापकोटा, प्रहरी नायब निरिक्षक जीवन खड्का, जमदार उत्तम पाण्डे, स्वकीय उपसचिव युवराज राई, प्रहरी सहायक निरिक्षक रामकुमार श्रेष्ठ छन् ।
मन्त्रीले ३२ हजार रुपैयाँसम्म भ्रमण भत्ता बुझेका छन् । मन्त्रालयले हेर्न मात्रै दिएको विवरणमा राज्यमन्त्री प्रमिला कुमारी र उनको टिम सरकारी काम भन्दै सुनसरी, महोत्तरी, सिराहा, जनकपुर गएको देखाएर भ्रमण भत्ता लिएका छन् । अझ रमाइलो के छ भने उनीहरुले सार्वजनिक गाडीमा चढेर सरकारी काममा खटिएको विवरण मन्त्रालयमा पेश गरेका छन् ।

राज्य मन्त्रीको हलुवा सवारी चालक रविनकुमार पोखरेलले पनि सार्वजनिक गाडी चढेर सरकारी कामको सुनसरी र अर्का चालक विजयकुमार यादव पनि सुनसरी र महोत्तरीमा सरकारी काम गर्न सार्वजनिक गाडी चढेर गएको विवरण मन्त्रालयमा पेश गरेर भत्ता लिएको हेर्न मात्रै दिएको सूचनामा उल्लेख थियो । मन्त्रालयले पछिल्लो पटक उक्त सूचना लुकाएर अर्कै विवरण मात्रै उपलब्ध गराएको छ ।
पूर्व राज्य मन्त्री प्रमिला कुमारीले आफुले अनुगमन जाँदा मात्रै भत्ता लिएको र जति रकम लिएको छ त्यो अस्वभाविक नभएको दावी गरिन् । ‘मेरो सचिवालयका कर्मचारीले के गरे त्यो मलाई थाहा हुने कुरा भएन । मैले काम गरेर मात्रै भत्ता लिएको छु,’ उनले भनिन् ।

