काठमाडौं । एसीसी महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत नेपाल आज आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । खेलअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाउँदै १०९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले ११.५ ओभरमै जम्मा १ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाको रंगिरी दमुल्ला क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रनको योगफल तयार पारेको हो ।

छैटौँ विकेटका लागि पुजा महतो र कविता जोशीले ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी कविता जोशी ३१ रनमा अविजित रहिन् ।
३२ बलमा ३ चौका प्रहार गरेकी पुजा २५ रन बनाउँदा रनआउट भइन् । सिता रानामगर २६ रन बनाउँदा रन आउट भइन् । उनले ३० बलमा ३ चौका प्रहार गरिन् । कविता कुवँर १३ रन बनाउँदा क्याच आउट भइन् । कप्तान इन्दु बर्मा शुन्य रनमा नै बोल्ड आउट भइन् ।
रुविना क्षेत्री ८ रनमा रनआउट रहिन् । नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि सादिया इकवालले २ तथा फतिमा सनाले १ विकेट झारिन् । नेपालले अब मंगलबार भारतसँग तेस्रो खेल खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।

