 
							पर्सा । पर्सा प्रहरीले ४८९ किलो लागुऔषधसहित पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएको लागुऔषध चरेस, गाँजा र गाँजाको धुलोसहित पक्राउ परेका पर्सा कालिकामाई गाउँपालिका–१ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई सार्वजनिक गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका –४ अकवा गाउँको बाँसघारीबाट बिहिवार राती करीब ८ बजे मियाँलाई ३० किलो लागुऔषध गाजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

मियाँलाई गाँजासहित नियन्त्रणमा लिएर प्रहरी टोलीले सोधपुछ गर्दा सोही बाँसघारीमा जमिन मुनी गाडिएको अवस्थामा एक सय ९२ किलो चरेश र २ सय ६७ किलो गाजाको धुलो (पोल्याण्ड) बरामद गरेको प्रहरी उपरिक्षक ढुंगेलले जानकारी दिए ।
बरामद भएको लागुऔषधसहित मियाँलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । केही वर्ष अगाडी लागुऔषध गाँजा खेतीको लागि प्रसिद्ध पर्सामा उत्पादन हुन छाडेको गाँजा छिमेकी जिल्ला मकवानपुरबाट पर्सामा भित्रिएको प्रहरी उपरिक्षक ढुंगेलले बताए । खुल्ला सिमानाका कारण लागुऔषध ओसारपोसार गर्ने कार्यलाई नियन्त्रणमा लिनु नेपाल प्रहरीको लागि प्रमुख चुनौती बनेको प्रहरी उपरिक्षक ढुंगेलको भनाई छ ।



 
										 
										 
												 
												 
												 
												 
												 
												 
											 
											 
											 
											 
											 
								 
								 
								 
								