काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी रूपमा वरिष्ठ सचिवहरूलाई पाखा लगाउँदै कनिष्ठलाई मुख्यसचिवमा बढुवा गरेपछि यसले प्रशासनिक तहमा हलचल ल्याएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरीयतामा रहेका गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

जबकि मुख्यसचिव हुने लाइनमा पहिलो वरीयतामा रहेका तोयानारायण ज्ञवालीमात्रै होइन, उनीपछिका दुई वरीयता पनि मिच्दै ओलीले चौथो वरीयताका अर्याललाई मुख्यसचिव बनाएका थिए । राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरीयतामा थिए ।

तर, ज्ञवाली कांग्रेस र सुवेदी माओवादी निकट भएका कारण उनीहरूलाई पाखा लगाउँदै ओलीले आफ्ना विश्वासपात्र मानिने अर्याललाई मुख्यसचिव बनाएका हुन् । २०४६ माघ ४ गते नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०७६ फागुन १८ मा सचिवमा बढुवा भएका थिए भने आगामी फागुन १८ मा अनिवार्य अवकाशमा जाँदै थिए ।

५८ वर्षको उमेर हदका कारण मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार अवकाशमा जानेृ भएपछि नयाँ मुख्यसचिव नियुक्त गरिएको हो । वरिष्ठता र कार्यकुशलताका आधारमा नियुक्त हुने मुख्यसचिव पदमा वरिष्ठता मिच्दै अर्याललाई नियुक्ति दिइएको हो ।

वरीयता मिच्दै ओलीले अर्याललाई मुख्यसचिव बनाएसँगै वरिष्ठ सचिवहरूले धमाधम राजीनामा दिइरहेका छन् । राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीले दिएको राजीनामा अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेकै बैठकबाट स्वीकृतसमेत गरिएको थियो ।

मुख्यसचिव हुने लाइनमा रहेका ज्ञवालीले बुधबार नै आफूलाई बाइपास गर्न लागिएको सूचना पाइसकेका थिए । आफूभन्दा कनिष्ठलाई कमान्डर मानेर काम गर्नुपर्ने अवस्था बनेसँगै उनले राजीनामा बुझाएका हुन् । आगामी २२ भदौमा अवकाशमा जाँदै गरेका ज्ञवाली सरकारले मुख्य सचिव बनाउने सम्भावित सचिवमध्ये पहिलो दावेदार थिए ।

तर, मंगलबार राति भोजपुरका प्रकाश तामाङ (काले मोक्तान) का लागि नागरिकता दिलाउन निर्देशन दिने बहानामा भेट्न बोलाएर प्रधानमन्त्री ओलीले गृहसचिव अर्याललाई मुख्यसचिवका लागि तयार रहन भनेका थिए । यो सूचना पाएका ज्ञवालीले बुधबारदेखि नै कार्यालयमा निष्क्रियता देखाइसकेका थिए । बुधबार दिउँसै कार्यालयबाट बाहिरिएका उनले बिहीबार राजीनामा बुझाएका हुन् ।

यस्तै, सचिवहरूमध्ये तेस्रो वरीयतामा रहेका महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् । उनले पनि मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका हुन् । भट्टराई माघ २९ मा अवकाशमा जाँदै थिए । यस्तै, सचिवहरूमध्ये दोस्रो वरीयतामा रहेका सुवेदी पनि कात्तिक ५ गते अवकाशमा जाँदै छन् ।

हुन त यसअघि लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउँदा पनि वरिष्ठता मिचिएको थियो । ७० जना सचिवमध्ये ज्ञवाली निवर्तमान मुख्यसचिव गड्तौलाभन्दा पनि वरिष्ठ हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय