काठमाडौँ । न्यायाधीश सिफारिसको विरोधमा नेपाल बार एसोसिएसन फेरि आन्दोलित भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश सिफारिसका लागि न्याय परिषद्को बैठक डाकेपछि बारले बुधबारदेखि फेरि विरोधको कार्यक्रम सुरु गरेको हो । प्रधानन्यायाधीश श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि बारका वकिलहरू कालो ब्यानरसहित विरोधमा उत्रिएका हुन् ।अवकाशमा जान लागेका प्रधानन्यायाधीशले परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेको भन्दै बारले विरोध प्रदर्शन गरेको हो ।
बुधबार उपत्यकास्थित बार एकाइहरूमा आबद्ध सम्पूर्ण कानुन व्यवसायी नेपाल बार एसोसिएसनमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

बुधबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश जारी गर्दै अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले ‘गैरसंवैधानिक’ नियमावलीका आधारमा न्यायाधीश नियुक्त प्रक्रिया सुरु गर्न लागेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि उनकै आह्वानमा वकिलहरू सम्बन्धित एकाइ परिसरमा कालो ब्यानरसहित विरोधमा उत्रिए ।
न्याय परिषद्ले आइतबारदेखि नै सर्वोच्च अदालतमा ६ जना न्यायाधीश सिफारिसको तयारी गरेको थियो । अहिले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा रिक्त रहेका १६ जना न्यायाधीशको पदपूर्तिका लागि तयारी भइरहेको छ । तर, पदपूर्ति सिफारिसका लागि परिषद्को बैठक निरन्तर बस्दै आए पनि सहमति भने जुट्न सकेको छैन । सहमति जुटाउने प्रयासअनुसार पछिल्लो पटक आइतबार परिषद्को बैठक बसेको थियो । तर, सहमति नजुटेपछि एक जना न्यायाधीशको सरुवा गरेर बैठक सकिएको थियो । आइतबार बसेको बैठकले कुनै निर्णय नदिएपछि सोमबार पनि बैठकलाई निरन्तरता दिइएको थियो ।

