
काठमाडौं । वर्षाजन्य विपदमा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा ९३० र भक्तपुरमा १२० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए ।
यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए ।