महोत्तरी । महोत्तरीको मटिहानीस्थित सीमा क्षेत्रमा भारतीय पक्षले नेपालतर्फको १५ फिट जमिन अतिक्रमण गर्न खोज्दा विवाद सिर्जना भएको छ । भारतको बिहारस्थित मधुवनी जिल्लाअन्तर्गत मधवापुर–१ मा रहेको सीमा स्तम्भ २९५/५ देखि २९५/६ अन्तर्गत नेपालको भू–भाग १५ फिट अतिक्रमण गर्दै नाला निर्माण प्रक्रिया अघि बढाएपछि स्थानीय आन्दोलित भएका हुन् ।

नेपाल–भारत सीमा क्षेत्रमा दुवै पक्षबाट ३३ फिट नछाडी कुनै पनि संरचना बनाउन नपाइने सम्झौता भए पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) र नेपाली जनप्रतिनिधिबीचको नयाँ सम्झौताले नेपाली भू–भाग अतिक्रमणमा परेको स्थानीयले दाबी गरेका छन् ।

संघीय सरकारको सहरी विकास मन्त्रालयबाट बिगही नदीदेखि परिक्रम गाछीसम्म नाला निर्माणका लागि विनियोजन भएको बजेटमा यसअघि दुवै देशको सीमाको ३३ फिटमा नाला निर्माण गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार नै २९५/१ देखि २९५/५ सीमा स्तम्भसम्म नाला निर्माणसमेत भयो । तर, उक्त सहमति उल्लंघन गर्दै २९५/५ देखि २९६/६ नम्बरको सीमा स्तम्भमा १५ फिट नेपालतर्फ पर्ने गरी कसरी एक्कासि नाला निर्माण भयो भन्ने विषय अहिले चर्चामा छ ।

१५ फिट नेपालतर्फ नाला निर्माणको क्रममा दर्जनौँ घरहरू भत्काइएको छ भने पीडितहरू सरोकारवाला निकायमा न्यायको याचना गरिरहेका छन् । नाला निर्माण गर्दा दुवै पक्षको आधा–आधा भू–भाग पर्ने गरी सहमति हुनुपर्नेमा एक्कासि नेपाली नागरिकका निजी घर तथा टहरा भत्काउनु र जग्गा अतिक्रमण हुनुमा भारतीय एसएसबी र मटिहानीकै स्थानीय जनप्रतिनिधिहरूको मिलेमतो रहेको पीडितहरूको दाबी छ ।

यो विषयमा सबै दलले सरोकारवालाको ध्यानाकर्षणसमेत गराएका छन् । सिमाना मिच्ने उद्देश्यले बनाइएको नाला एउटा बहाना मात्र भएको बताउँदै केही समयअघि प्रमुख जिल्ला अधिकारीलाई दिएको संयुक्त निवेदनमा दलहरूले यसको मुख्य जिम्मेवार मटिहानी नगरपालिकाका पदाधिकारी, भारतीय एसएसबी र ठेकेदार कम्पनी भएको आरोप लगाएका छन् ।

मटिहानी–८ स्थित छोटी भन्सार नाका नम्बर २ कार्यालय समेत रहेको यस ठाउँमा नेपाली व्यापारीहरू बिचल्लीमा परेका छन् । झन्डै २ दर्जन व्यापारीहरूलाई ढल निर्माणको नाममा उठिबास लगाउन खोजेको भन्दै उद्योग वाणिज्य संघ महोत्तरीले गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय