
काठमाडौँ । अविरल वर्षाका कारण ढलेको रुखले अवरुद्ध सडक सशस्त्र प्रहरी बलको विपत् उद्धार टोलीद्वारा रातारात खुल्ला गरिएकाे छ । देशमा बाढी पहिराे, रुख ढल्ने, पहिरो खस्ने र जनधनकाे नाेक्सान हुने माेसम रहेकाे छ । सुरक्षा निकायहरूकाे सक्रियता र उद्धारले पीडितले राहत महसुस गरिरहेछन् ।अविरल वर्षाका कारण काठमाडौँ महानगरपालिका–९, एयरपोर्ट गेट अगाडि सडकमा रुख ढल्दा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। तर, सशस्त्र प्रहरी बल नेपालकाे नं. २० विपद् उद्धार उपत्यका गण, सिनामंगलबाट खटिएको सुरक्षा टोलीले तत्काल सक्रिय हुँदै रातको समयमा जोखिम मोलेर सडक सुचारु गराएको छ ।
काठमाडौँको एउटा सडक खुला पार्ने कार्य सानो लाग्न सक्छ, तर यसले सुरक्षाकर्मीहरूको दैनिक चुनौती, जनताप्रति उत्तरदायित्व र राज्यको संवेदनशीलता झल्काउँछ।वर्षायाममा यस्ता उद्धार कार्य आवश्यक र दोहोरिने छन्।

वर्षाको मध्यरातमा बाक्लो अँध्यारो, चिसो र सतर्कताबीच खटिएका सुरक्षाकर्मीहरूले चेनस र सुरक्षा उपकरणको प्रयोग गरी ढलेको ठूलो रुख काटेर हटाएका थिए। सडकको एकतर्फी सवारी सहज हुँदा विमानस्थल क्षेत्रको आवागमन पुनः नियमित हुन थालेको छ।
रुख ढल्दा सडक अवरुद्ध हुनुका साथै आसपासका सवारी र पैदलयात्री जोखिममा परेका थिए। तर, सशस्त्र प्रहरीको उद्धार कार्यले ठूलो दुर्घटना हुनबाट जोगिएको छ। रातको समयमा वर्षाका बीच गरिने यस्तो उद्धार कार्य अत्यन्तै जोखिमपूर्ण मानिन्छ। तसर्थ, सशस्त्र प्रहरी बलका जवानहरूको तत्परता र व्यावसायिकताको प्रशंसा गर्नुपर्ने देखिन्छ ।