रसुवा । भोटेकोशीमा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन् । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी बुद्धि चुडाँलले बाढीमा परी चार जना व्यक्ति बेपत्ता भएको जानकारी दिए । रसुवास्थित नेपाल-चीन जोड्ने मितेरी पुल बिहान करिब ३ बजे अचानक आएको बाढीले बगाएको छ ।
त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ । त्यहाँ रहेका ८-९ वटा मालबाहक कन्टेनर डिब्बा बगाएको जानकारी सशस्त्र प्रहरीले दिएको छ । स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्याइएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

