काठमाडौं । अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभरका विभिन्न आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जसमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड पूर्ण अवरुद्ध छन् ।

त्यसैगरी गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी बामी सडकखण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी वामी सडकखण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा एकतर्फी रुपमा आलोपालो गरेर सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय