तनहुँ । पृथ्वी राजमार्गकै लामो मादी नदी पुलको ७१ प्रतिशत काम सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने मादी नदी माथि निर्माणाधीन पुलको काम अगाडी बढिरहेको छ । तीन सय १८ मिटर लम्बाइ २३ मिटर फराकिलो यो पुल एउटै सुपरस्ट्रक्चर (स्ल्याव) भएको नेपालकै पहिलो ४ लेनको पुल रहेको मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्डले जनाएको छ । १ अर्ब २१ करोड रुपैयाँ को लागतमा ठेक्का सम्झौता गरेर ए एन के÷जेड आई ई सी जेभीले निर्माणको काम गरिरहेको छ । २०७९ भदौ २२ मा सम्झौता भएको पुलको अन्तिम म्याद २०८२ भदौ २१ सम्म रहेको छ ।
पुल निर्माण सुरु हुनुभन्दा अगाडी पुलको डिजाइन स्वीकृत हुन समय लागेको कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने देखिएको कारण एक पटक म्याद थपको लागि निर्माण कम्पनीले निवेदन दिएको मुग्लिङ पोखरा सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । पुलमा जम्मा ६ वटा स्पान रहने छन् । हालसम्म ४ वटा स्पानको काम सकिएको र बाँकी काम मनसुन सकिए लगत्तै सुरु हुने आयोजनाका इन्जिनियर पाण्डेले जानकारी दिनुभयो ।

हाल सञ्चालनमा रहेको दुई लेनको मादी पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माण भइरहको हो । निर्माण सम्पन्न भएपछि पुलमा बत्ती समेत जडान हुने र पर्यटकीय रूपमा समेत पुलले ठुलो महत्त्व राख्ने आयोजनाले जनाएको छ ।

