नुवाकोट । काठमाडौँ उपत्यकाको फोहोर दैनिक विसर्जन गरिँदै आएको नुवाकोटको ओखर पौवास्थित बन्चरे डाँडामा फेरी फोहोर फाल्न रोकिएको छ । पहिलेको माग पुरा नगरेको जनाउँदै स्थानीयवासीले बुधवार देखी फोहोर विसर्जन गर्न रोक लगाएका हुन् ।
बन्चरे डाँडामा ल्यान्डफिल साइटका प्रभावित स्थानीयले पहिलेको मागहरू सम्बन्धित पक्षले पुरा नगरेको जनाउँदै फोहोर वाकेर आएका ट्रकहरू रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । फोहोर वाकेर आएका ५० थान बढी ट्रकहरू फोहोर विसर्जन गर्न नपाएपछि फर्किएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

गत २०७९ साल जेठ २ गते काठमाडौँ उपत्यकाको फोहोर दैनिक विसर्जन गरिँदै आएको सिस डोल वन्चरे डाँडा, कुडुले ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा सहजताका लागि काठमाडौँ महानगरपालिका र स्थानीयवासी भएको १८ बुँदे सहमति कार्यान्वयन नगरिएको जनाउँदै स्थानीयवासीले फोहोर फाल्न रोक लगाएका हुन् ।
उक्त समयमा स्थानीयवासी काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह वालेन, उपमेयर सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका १ का वडाध्यक्ष पदमबहादुर बलामी, २ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनीवेसी नपा १ का वडाध्यक्ष मानवहादुर तामाङ, ३ का वडाध्यक्ष प्रकाश हमाल, स्थानीयवासी तथा सरोकारवालाबिच वन्चरे डाँडा वरपरको घर टहरा क्षतिपूर्ति तीन महिनाभित्र निर्णय गर्ने, तीनपिप्लेदेखि वन्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लगत कायम गर्न पहल गर्ने, फोहोर विसर्जन स्थल र फोहोर लैजाने बाटोमा उत्पन्न हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्नेलगायत १८ बुँदे माग पुरा नगरेको जनाउँदै स्थानीयवासीले पुनः आन्दोलन थालेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकाका लागि रोकिएको हो ।
वन्चरे डाँडा ल्याण्डफिल साइटमा काठमाडौँ, ललितपुर, भक्तपुरका साथै काभ्रेको फोहोरसमेत विसर्जन हुने गरेको प्रहरीले जनाएको छ । दैनिक रूपमा दुई सय ५० देखि तीन सय ट्रक फोहोर फालिँदै आएको छ ।
फोहोर बोकेका ट्रक रोक्ने क्रममा सर्वसाधारणसँग ओखर पौवाको वन्चरे डाँडामा बुधवार प्लेकार्ड वाकेर विद्यार्थीसमेत सहभागी रहेको थिए । फोहोरले अध्ययनमा वाधा पारेको र तत्काल वैज्ञानिक रूपमा व्यवस्थापन गरिनु पर्ने उनीहरूको माग रहेको छ ।
स्थानीयवासी पहिले भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै स्थानीयहरूले फोहोर विसर्जनका गाडीहरू साइटमै प्रवेश गर्न नदिई फर्काइदिएको डिएसपी लामाले जानकारी दिनुभयो ।
स्थानीयहरूले बिच बाटोमै गाडीहरू रोकिदिएका हुन् जसका कारण वन्चरे डाँडामा फोहोर विसर्जन कार्य ठप्प भएको छ ।
स्थानीयहरूले फोहोर बोक्ने गाडीहरूबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्ने, फोहोर मैला प्रभावित क्षेत्रहरूको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्रहरू छुट्ट्याउने, बन्चरे डाँडाका प्रभावित बस्तीहरूको उचित व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई कुहिने–नकुहिने छुट्टाउनु पर्ने, प्रभावित स्थानको शिक्षाको गुणस्तरीयताको वृद्धिको कार्य गरिने लगायतका माग पुरा हुन नसकोको सथानीयवासिले बताए । ककनी गापा १ का वडाध्यक्ष पदमबहादुर बलामीले सहमति कार्यान्वयनका लागि कसैले पनि चासो नदिएका कारण स्थानीयवासी आक्रोशित भएको बताउनुभयो ।
विशेष रूपमा स्थानीयवासीले फोहोरको बैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहितको काठमाडौँ महानगर पालिकासँग भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । साँढे तिन वर्ष अगाडि गरिएको सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहोरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सङ्क्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

