काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकारले राजनीतिक दलका शीर्ष नेताहरूसँग औपचारिक संवाद सुरु गरेको छ। करिब तीन महिनादेखिको संवादहीनता तोड्दै मंगलबार सरकार र प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।

सरकारले निर्वाचनको तयारी तीव्र पारेका बेला कांग्रेस र एमाले भने प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। सरकारले चुनावमा जाने अनुकूल वातावरण नबनाएको आरोप लगाउँदै यी दलहरू सरकारसँग असन्तुष्ट देखिँदै आएका थिए। जेनजी आन्दोलनपछि बनेको सरकार र प्रमुख दलहरूबीच दूरी कायमै रहँदा मंगलबारको भेटले भने संवादको वातावरण केही सहज बनाएको विश्लेषण गरिएको छ।

दलका शीर्ष नेताहरूले प्रधानमन्त्रीले आफूहरूसँग प्रत्यक्ष छलफल नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका थिए। यद्यपि प्रधानमन्त्री कार्कीले दलका दोस्रो तथा तेस्रो तहका नेताहरूसँग भने निरन्तर संवाद गर्दै आएकी थिइन्। शीर्ष तहमा देखिएको असमझदारीका बीच राष्ट्रपति पौडेलले पहल गर्दै संवादहीनता अन्त्य गराएका हुन्।

छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको राजनीतिक अवस्था गम्भीर र संवेदनशील रहेकाले त्यसको निकासका रूपमा निर्वाचन घोषणा गरिएको स्पष्ट पारेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिन चुनावको घोषणा गरिएको हो। यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपतिलाई उद्धृत गर्दै पोखरेलले बताए।

छलफलमा सरकारले घोषणा गरेको निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा सरकार र दलहरूबीच समझदारी जुटेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय