काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल पौष ०३ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी प्रकाशराज थापालाई २०८२ साल पौष ०८ गते प्रधान सेनापति शोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक औपचारिक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।
पदोन्नत उपरथी प्रकाशराज थापालाई दरबन्दी संभार रथी विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ।

सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका दुई जना महासेनानी—विजय केसी र भीमशंकर वनलाई पनि प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो। सहायक रथी विजय केसीको दरबन्दी उपत्यका प्रितनामा तोकिएको छ भने सहायक रथी भीमशंकर वनको दरबन्दी सैनिक अभिलेखालयमा कायम गरिएको छ।
नेपाली सेनाको परम्परा र अनुशासनअनुसार सम्पन्न उक्त समारोहले पदोन्नति भएका अधिकृतहरूको पेशागत उपलब्धि, नेतृत्व क्षमता र थप जिम्मेवारीप्रति संगठनको विश्वासलाई औपचारिक रूपमा पुष्टि गरेको छ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, विभिन्न तहका अधिकृतहरू, पदोन्नति भएका अधिकृतहरूका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका क्रममा प्रधान सेनापति सिग्देलले पदोन्नत अधिकृतहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्र, संविधान र नेपाली सेनाप्रति निष्ठावान रही थप जिम्मेवारीका साथ सेवा प्रदान गर्न आग्रह गर्नुभएको सैनिक स्रोतले जनाएको छ।
उक्त कार्यक्रमले नेपाली सेनाभित्र नेतृत्व विकास, उत्तरदायित्वको हस्तान्तरण र संस्थागत निरन्तरताको सन्देश प्रवाह गर्नुका साथै संगठनात्मक मनोबल अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ।

