सुनिलस्मृति गाउँपालिका–३ र ४ को सिमाना नजिक पर्ने फगाम खोलामा बग्दै गरेको रतुवा मृगको उद्धार गरी उपचारपछि प्राकृतिक वासस्थानमा छाडिएको छ। सुवर्णावती सब–डिभिजन वन कार्यालय र स्थानीयको संयुक्त पहलमा उक्त मृगलाई घाइते अवस्थामा फेला पारेर सुरक्षित रूपमा उद्धार गरिएको हो।
उद्धारपछि सामान्य उपचार गरिएको मृगलाई पुनः जंगलमै छाडिएको वन कार्यालयले जनाएको छ। प्रारम्भिक अवस्थामा मृगको शरीरमा सामान्य चोट देखिए पनि उपचारपछि अवस्था सुधारिएको थियो।

रतुवा मृग (बार्किङ डियर), जसको वैज्ञानिक नाम Muntiacus muntjak हो, नेपालमा तराईदेखि करिब ३५०० मिटर उचाइसम्म पाइने सानो, लजालु र प्रायः एक्लै बस्न रुचाउने वन्यजन्तु हो। यसले खतरा महसुस गर्दा कुकुरझैँ भुक्ने आवाज निकाल्ने भएकाले यसलाई ‘बार्किङ डियर’ पनि भनिन्छ।
वन्यजन्तुको संरक्षण र उद्धारमा स्थानीय समुदायको सक्रिय सहभागिताले जैविक विविधता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वन कार्यालयले जनाएको छ।

