काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले कानुनी र राजनीतिक दुवै माध्यमबाट सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकले आम जनसमुदाय तथा नागरिक समाजसँग सहकार्य गर्दै ओलीको पक्राउविरुद्ध एकीकृत रूपमा उभिने रणनीति तय गरेको जनाएको छ। यसैअनुसार आज अपराह्न ३ बजे देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा पुगेर विरोधपत्र बुझाउने निर्णय गरिएको छ। पार्टीले यसलाई लोकतन्त्र र कानुनी राज्यमाथिको चुनौतीका रूपमा चित्रण गरेको छ।
एमालेले लोकतन्त्र र कानुनी शासनका पक्षधर अन्य राजनीतिक दलहरूसँग पनि संवाद र सहकार्य गर्ने निर्णय गरेको छ। साथै, नागरिक समाज र आम जनसमुदायसँग मिलेर आन्दोलनलाई सशक्त बनाउने जनाएको छ।

