काठमाडौँ प्रहरीले ‘अपरेशन सेफ्टी काठमाडौँ’ अन्तर्गत विभिन्न स्थानमा छापा मार्दै गुण्डागर्दीमा संलग्न पाँच जना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार बौद्ध क्षेत्रमा सक्रिय श्याम लामा समूहसँग सम्बन्धित ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरिएको छ।

त्यसैगरी कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्की बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा संलग्न सुजन कार्की, स्युचाटार क्षेत्रका सरू हुमागाईं तथा बौद्ध क्षेत्रमा लुटपाट र गुण्डागर्दीमा संलग्न बिकी लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने, जबर्जस्ती आफूले चिनेको होटलमा लैजाने र त्यसबापत कमिसन लिने गतिविधिमा संलग्न १८ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। तीमध्ये १० जना यात्रुसँग कमिसन लिने र दुव्र्यवहार गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उपत्यकामा शान्ति–सुरक्षा सुदृढ बनाउन यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ।

