काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि उनको कार्यशैली र दिनचर्या अत्यन्तै व्यस्त र परिणाममुखी देखिएको छ। बिहानदेखि बेलुकासम्मको समय उनी प्रायः सरकारी काममै केन्द्रित रहने गरेका छन् ।
प्रधानमन्त्री शाह बिहान ९ बज्नुअघि नै सिंहदरबार पुगिसक्छन्। कार्यालय प्रवेश गरेलगत्तै उनले मुख्य सचिवसँग दैनिक ‘ब्रिफिङ’ लिन्छन् र आवश्यकताअनुसार पहिलो बैठकमा अन्य कर्मचारी तथा सहयोगीलाई पनि सहभागी गराउँछन्। दिनको सुरुवात नै सूचनामूलक र योजनामुखी ढंगले हुने गरेको छ।

कार्यालय समयमा उनी अध्ययन, अनुसन्धान तथा विभिन्न क्षेत्रका सरोकारवालासँग छलफलमा केन्द्रित हुन्छन्। प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सांसद, सचिव र कूटनीतिक नियोगका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्दै समस्याको पहिचान र समाधान खोज्ने उनको प्राथमिकता रहेको छ।
उनको कार्यशैलीमा ‘धेरै सुन्ने, कम बोल्ने’ अभ्यास स्पष्ट देखिन्छ। बैठकमा उनी सामान्यतः ५ देखि ७ मिनेट मात्र बोल्ने गर्छन् भने बाँकी समय अरूको धारणा सुन्ने र महत्त्वपूर्ण विषय टिपोट गराउनेमा ध्यान दिन्छन्। सचिवालयलाई पनि यही शैली अपनाउन निर्देशन दिइएको छ।
प्रधानमन्त्री शाह बिहानैदेखि साँझ ६–७ बजेसम्म सिंहदरबारमै व्यस्त रहने गर्छन्। प्रायः ५ बजेपछि मात्र बालुवाटार फर्किने उनी कार्यालयमै खाजा–नास्ता गर्ने गर्छन्। कार्यक्षमता बढाउन उनी र उनको टोली दैनिक १५ देखि २० घण्टासम्म खटिने गरेको बताइएको छ।
कार्यालय समयबाहेक पनि उनी देशका समस्याबारे अध्ययन र विश्लेषणमै समय खर्च गर्ने गर्छन्। सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्यका साथ निरन्तर सक्रिय रहेका उनलाई उनकी पत्नी सबिना काफ्लेले पनि रचनात्मक सुझाव र सहयोग गर्दै आएको बताइएको छ।

