काठमाडौँ महानगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसै क्रममा काठमाडौँ महानगरपालिका वडा नं. १० को अनामनगरस्थित धोबीखोला किनारमा रहेको चर्चित साततले भवनको केही भागमा डोजर चलाइएको छ।

वडा नं. १० का वडाध्यक्ष तथा महानगरको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीका अनुसार उक्त भवनको पाँच तलासम्म मात्र नक्सा पास भएको थियो। तर निर्माणका क्रममा दुई तला थपेर सात तला बनाइएको र नक्सा पासभन्दा बाहिर गएर संरचना विस्तार गरिएको पाइएपछि कारबाही गरिएको हो। निर्माण सम्पन्न प्रमाणपत्र लिएपछि पनि मापदण्डविपरीत थप संरचना बनाइएको महानगरको निष्कर्ष छ।

केसीका अनुसार यो भवनको निर्माण रोक्न २०७६ सालतिरै प्रयास गरिएको थियो। त्यसबेला दिनमा काम रोक्न खोज्दा भवनधनीले रातिको समयमा ढलान गरेर काम अघि बढाएका थिए। उनले त्यस समयमा प्रशासन, प्रहरी तथा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको बताए। दबाब, धम्की र असहयोगका कारण तत्काल कारबाही गर्न नसकिएको उनको भनाइ छ।

अहिले भने सङ्घीय सरकार र महानगरपालिकाबीच समन्वय बढेकाले अनधिकृत संरचना हटाउने काम प्रभावकारी बनेको केसीले बताए। अनामनगरसँगै युएन पार्क, बुद्धनगरलगायत खोला किनारका क्षेत्रमा पनि मापदण्डविपरीत बनेका संरचना हटाउने अभियान जारी रहेको उनले जानकारी दिए।

सुकुमबासी बस्ती व्यवस्थापनका सन्दर्भमा महानगरले मानवीय पक्षलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। हटाइएका परिवारलाई होल्डिङ सेन्टरमा राखिएको छ भने खानपान, गर्भवती महिलाका लागि पौष्टिक आहार तथा बालबालिकाका लागि आवश्यक सामग्री उपलब्ध गराइएको केसीले बताए।

महानगरले मापदण्ड मिच्ने जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने स्पष्ट गरेको छ। वडा नं. १० बाट सुरु भएको डोजर अभियान अहिले काठमाडौँका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय