काठमाडाैं । अमरसिंह माध्यमिक विद्यालय को स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालन हुँदै आएका अस्थायी संरचनाहरू अन्ततः हटाइएका छन् । पोखरा महानगरपालिका–१२ स्थित विद्यालय परिसरभित्र बनेका ५३ वटा व्यवसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएसँगै विद्यालयले आफ्नो जग्गामाथिको स्वामित्व पुनः स्थापित गरेको हो ।
विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले अटेर गर्दै आएका थिए । विवाद चर्किएपछि व्यवसायीहरूले अदालतमा मुद्दा समेत दायर गरेका थिए । तर अदालतले विद्यालयकै पक्षमा फैसला सुनाएपछि टहरा हटाउने प्रक्रिया अघि बढाइएको थियो ।

अदालतको आदेशपछि विद्यालयले पुनः १५ दिने सूचना जारी गरेको थियो । म्याद सकिन लाग्दा पोखरा महानगरपालिका का प्रमुख र व्यवसायीहरूबीच छलफल भई टहरा हटाउन ४ गतेसम्मको अन्तिम समयसीमा तय गरिएको थियो । सोही सहमतिअनुसार व्यवसायीहरूले आफ्ना सामान सुरक्षित रूपमा अन्यत्र सार्दै संरचनाहरू खाली गरेका हुन् ।
लामो समयदेखि अतिक्रमणको चपेटामा परेको विद्यालयको जग्गा खाली भएपछि अब उक्त क्षेत्र शैक्षिक प्रयोजनका लागि उपयोग गर्न बाटो खुलेको विद्यालय प्रशासनले जनाएको छ ।

