दलीय लोकतन्त्रमा महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, संगठनको वैधता, एकता र भविष्यको दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसर पनि हो। तर नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको तयारीसँगै देखिएको विवादले पार्टीलाई गम्भीर संकटतर्फ धकेलेको छ।
क्रियाशील सदस्यता अद्यावधिकको विषय सतहमा प्राविधिक देखिए पनि यसको केन्द्रमा राजनीतिक अविश्वास र शक्ति सन्तुलनको प्रश्न रहेको स्पष्ट छ। एकातिर वर्तमान नेतृत्वले संगठनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने प्रयासस्वरूप अद्यावधिक अभियान सञ्चालन गरेको दाबी गरिरहेको छ भने अर्कोतिर संस्थापन इतर पक्षले यसलाई आफूहरूलाई किनारा लगाउने रणनीतिका रूपमा व्याख्या गरिरहेको छ। यही अविश्वासका कारण शीर्ष नेतादेखि कार्यकर्तासम्मले सदस्यता अद्यावधिक नगर्नु सामान्य घटना होइन।

विशेष महाधिवेशनपछि उत्पन्न राजनीतिक परिस्थितिले कांग्रेसभित्रको शक्ति समीकरण फेरिएको छ। सर्वोच्च अदालतको निर्णयपछि नयाँ नेतृत्वको वैधानिकता स्थापित भए पनि सबै पक्षको भावनात्मक र राजनीतिक स्वीकार्यता अझै सुनिश्चित हुन सकेको देखिँदैन। यही असन्तुष्टि अहिले सदस्यता अद्यावधिकको विवादका रूपमा बाहिर आएको हो।
कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल हो। त्यसैले आन्तरिक मतभेदलाई संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्ने क्षमता उसले देखाउनुपर्छ। यदि वर्तमान नेतृत्वले बहुमतको बलमा मात्र अघि बढ्ने र इतर पक्षले पूर्ण असहयोगको नीति अपनाउने हो भने त्यसको क्षति कुनै एक समूहलाई होइन, सिंगो पार्टीलाई हुनेछ।
महाधिवेशन सफल बनाउन सबै पक्षले केही न केही लचकता देखाउनैपर्छ। निष्पक्ष निर्वाचनको सुनिश्चितता, साझा विश्वासको वातावरण र सम्मानजनक राजनीतिक सहभागिता नै अहिलेको आवश्यकता हो। अन्यथा महाधिवेशनको विवादले कांग्रेसलाई अझ कमजोर बनाउनेछ र त्यसको प्रत्यक्ष लाभ राजनीतिक प्रतिस्पर्धीहरूले उठाउनेछन्। लोकतान्त्रिक दलका रूपमा कांग्रेसले आफ्नो संकट आफैं समाधान गर्न सक्नुपर्छ, यही नै आजको सबैभन्दा ठूलो परीक्षा हो।

