काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि देशका विभिन्न क्षेत्रमा भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार मनसुनी गतिविधि सक्रिय हुने भएकाले मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। यसका कारण आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबान हुन सक्ने चेतावनी दिइएको छ।

खोला तथा खहरे आसपास यात्रा गर्ने, नदी किनार र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। डुबानको जोखिम रहेका स्थानका नागरिकलाई सुरक्षित तथा उँचो स्थानको पहिचान गरी आवश्यक परे तत्काल त्यहाँ जान तयारी अवस्थामा रहन पनि प्राधिकरणले सुझाव दिएको छ।
प्राधिकरणले तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न र विपद् व्यवस्थापनमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर अलर्ट अवस्थामा रहन आग्रह गरिएको छ।
प्राधिकरणले मौसमको अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन र अनावश्यक जोखिमपूर्ण यात्रा नगर्न सबै नागरिकलाई अनुरोध गरेको छ।

