नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै संवेदनशील मोडमा उभिएको छ। आगामी असोजमा तय गरिएको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको विवाद समाधान हुनुको सट्टा अझ गहिरिँदै गएको छ। विशेष महाधिवेशनको वैधानिकतादेखि नेतृत्वको स्वीकार्यता र संगठनात्मक संरचनासम्मका विषयमा संस्थापन र इतर पक्षबीच देखिएको अविश्वासले कांग्रेसलाई एकताको होइन, विभाजनको संघारमा पुर्याएको छ।
पार्टी नेतृत्वले महाधिवेशनको कार्यतालिकाअनुसार संगठन विस्तार र तयारीलाई निरन्तरता दिइरहेको छ। तर, इतर पक्षले विशेष महाधिवेशनलाई राजनीतिक रूपमा स्वीकार नगरी छुट्टै गतिविधि सञ्चालन गरिरहेको अवस्था छ। दुवै पक्षले सहमतिका लागि प्रस्ताव आदानप्रदान गरे पनि कसैले पनि आफ्नो मूल अडान छोड्न तयार देखिएका छैनन्। यही जडताले सहमतिको सम्भावना कमजोर बनाएको छ।

राजनीतिक दलभित्र मतभिन्नता हुनु स्वाभाविक हो। तर, संवाद र सम्झौताबाट समाधान खोज्नु लोकतान्त्रिक संस्कृतिको आधार हो। कांग्रेसजस्तो लामो इतिहास बोकेको पार्टीमा संस्थागत निर्णयभन्दा गुटीय अस्तित्वको प्रश्न हावी हुनु चिन्ताजनक विषय हो। नेतृत्वको प्रतिष्ठाभन्दा पार्टीको भविष्यलाई केन्द्रमा राख्न नसकिए विभाजनको मूल्य केवल कांग्रेसले मात्र होइन, समग्र लोकतान्त्रिक राजनीतिले चुकाउनुपर्नेछ।
यदि कांग्रेस विभाजनको बाटोमा अघि बढ्यो भने त्यसको प्रभाव पार्टीभित्र सीमित रहने छैन। स्थानीय तहदेखि संघीय संसद्सम्मको शक्ति सन्तुलन फेरिन सक्छ। आगामी निर्वाचनमा विपक्षी दलहरूले त्यसको प्रत्यक्ष लाभ उठाउनेछन् भने कांग्रेसका दुवै समूह कमजोर हुने सम्भावना बलियो छ। अझ प्रमुख प्रतिपक्षी दलको हैसियतमा समेत असर पर्न सक्ने जोखिमलाई हल्का रूपमा लिन मिल्दैन।
यही कारण अहिले आवश्यक कुरा आरोप–प्रत्यारोप होइन, विश्वास पुनःस्थापना हो। नेतृत्वले व्यक्तिगत प्रतिष्ठा र गुटीय स्वार्थभन्दा माथि उठेर संस्थागत समाधान खोज्नुपर्छ। कांग्रेसको इतिहासले धेरै संकट पार गरेको छ, तर प्रत्येक संकटबाट पार्टी संवाद र सहमतिमार्फत अघि बढेको उदाहरण पनि छ। अहिले पनि त्यही राजनीतिक परिपक्वताको आवश्यकता छ।
महाधिवेशन कुनै गुटको विजय वा पराजयको माध्यम होइन, पार्टीलाई थप बलियो बनाउने लोकतान्त्रिक अभ्यास हो। कांग्रेसले विभाजनको होइन, एकताको सन्देश दिन सके मात्र आफ्नो ऐतिहासिक भूमिका जोगाउन सक्नेछ। अन्यथा, आन्तरिक द्वन्द्वले पार्टी मात्र होइन, मुलुकको राजनीतिक स्थायित्वलाई समेत कमजोर बनाउने खतरा बढ्नेछ।

