काठमाडौं । नेपालमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४७ जना विदेशी महिलालाई देश निकाला गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमार्फत ठमेल, दरबारमार्गलगायतका पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ५७ जना विदेशी महिलालाई विशेष अभियान सञ्चालन गरी पक्राउ गरिएको जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको छ। उनीहरूलाई युगान्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश, केन्या र इन्डोनेसियालगायतका देशमा पठाइएको प्रहरीले जनाएको छ। बाँकी १० जनामाथि भने अनुसन्धान भइरहेको छ।

प्रवक्ता भट्टराईले ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा विदेशी महिलाहरू अनैतिक गतिविधिमा संलग्न हुने गरेको स्थानीयवासीको गुनासो आएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको बताए।

उनका अनुसार केही विदेशीहरू नेपालमा सस्तो जीवनयापन र रात्रिकालीन मनोरञ्जनको अवसर रहेको भन्दै आउने गरेको पाइएको छ। पर्यटकीय क्षेत्रको शान्ति–सुरक्षा र सामाजिक वातावरणमा नकारात्मक असर पार्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको उनको भनाइ छ।

यसैबीच, काठमाडौं प्रहरीले गुण्डागर्दी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न एक हजार ८७१ जनाको विवरणसहितको अभिलेख तयार पारेको जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको तीन पुस्तेसहितको विवरण संकलन गरी अभिलेख तयार पारिएको हो। कुनै अपराध भएको अवस्थामा संदिग्ध व्यक्तिको पहिचान गर्न, खोजी गर्न तथा कानुनी कारबाहीको दायरामा ल्याउन यस्तो अभिलेखले सहयोग पुग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय