वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई क्यासिनो परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले गाउँपालिकाको ना.१ झ. १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ।
यादवसहित आठ जना नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पवनकुमार भट्टराईले पुष्टि गर्नुभएको छ। सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो परिसरमा पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र उनीहरूलाई आइतबार सार्वजनिक गरिने बताउनुभयो।
पछिल्लो समय पर्साका क्यासिनोमा नेपाली ग्राहक जाने गरेको सूचना प्राप्त हुँदै आए पनि प्रहरी पुग्दा उनीहरू भाग्ने गरेका कारण नियन्त्रणमा लिन नसकिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार क्यासिनोमा नेपाली ग्राहकको प्रवेशलाई लिएर निगरानी बढाइएको छ। यसैक्रममा यसपटक गाउँपालिकाका अध्यक्ष नै क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा सरकारी सवारीसाधनको प्रयोगसम्बन्धी विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ।

