काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको आज १३औँ दिन पुगेको छ। बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ। राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रबाट बगेको भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीले नदी आसपासका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै ठूलो संख्यामा मानिस बेपत्ता बनाएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझसम्म बाढीका कारण १ हजार ३४२ जनाको मृत्यु पुष्टि भएको छ। तीमध्ये ९८ वटा शव मात्र परिवारले बुझेका छन्। करिब ५ हजार जना अझै बेपत्ता रहेको जनाइएको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार १ हजार ९६७ जना तथा नुवाकोट जिल्ला प्रशासनमा दर्ता भएका २ हजार ३४० जना बेपत्ता छन्। सुरक्षाकर्मी तथा कर्मचारी १०० र विदेशी नागरिक ५८९ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

खोज तथा उद्धारका लागि विभिन्न सुरक्षा निकायका २१ हजार ४६५ जनशक्ति परिचालन गरिएको छ। हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको र उद्धार गरिएकामध्ये ३ हजार ९१२ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

चार जलविद्युत् आयोजनामा खोजी तीव्र
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९१९ जना सम्पर्कविहीन रहेको जनाइएको छ। केही आयोजनाका सुरुङबाट जीवित तथा मृत अवस्थामा मानिस फेला परे पनि ठूलो संख्यामा बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात छ।

हाल माथिल्लो त्रिशूली–३बी, रसुवा भोटेकोसी, चिलिमे र अपर त्रिशूली–१ मा खोज तथा उद्धार जारी छ।

रसुवागढी भोटेकोसी जलविद्युत् आयोजनाबाट हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ। दुई चिनियाँ नागरिकसहित थप तीन जना अझै सम्पर्कविहीन छन्।

माथिल्लो त्रिशूली–३बीमा कार्यरत फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि उक्त कम्पनीबाट बेपत्ता हुनेको संख्या १४१ बाट घटेर १२८ पुगेको छ। आयोजनासँग सम्बन्धित कर्मचारी, परिवारका सदस्य, परामर्शदाता, सुरक्षा गार्ड तथा इन्जिनियरिङ विद्यार्थीसमेत गरी १७८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

सुरुङभित्र उद्धारमा चुनौती
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार रसुवागढी हाइड्रोको छैटौँ तलासम्म खोजी गर्दा पनि थप व्यक्ति फेला परेका छैनन्। लाङटाङको सुरुङमा करिब २७५ मिटरभित्रसम्म पुगेर खोजी गर्दा दुईवटा शव निकालिएको छ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले मिनी एक्स्काभेटर र मडपम्पको प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। अपर त्रिशूली–१ मा थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र खोजी भइरहेको छ।

शनिबार एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। त्यस्तै, त्रिशूली–३एबाट हालसम्म दुई जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ।

लाङटाङ र रसुवागढीमा सुरुङ खोजी रोकियो
लाङटाङ खोला आयोजनाको सुरुङबाट दुई जनाको शव फेला परेपछि थप व्यक्ति फेला नपरेको भन्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्रको खोजी बन्द गरेको छ। फेला परेका दुवै शवको पहिचान हुन बाँकी छ। डीएनए परीक्षणमार्फत पहिचान गरी परिवारलाई हस्तान्तरण गरिने भएको छ।

उक्त आयोजनामा कार्यरत ३९ जना अझै बेपत्ता छन् भने सुरक्षित स्थानमा पुगेका १९ जनाको यसअघि नै उद्धार गरिएको थियो।

रसुवागढी आयोजनामा पनि सुरुङभित्रको खोजी रोकिएको छ। विद्युत् गृहको चार तला र कन्ट्रोल रुमसम्म बाढीको माटो, हिलो तथा लेदो भरिएको पाइएको छ। आयोजनाबाट कर्मचारी, निर्माण कम्पनीका कामदार तथा कर्मचारी र ज्यालादारी कर्मचारी गरी ९३ जना सम्पर्कविहीन छन्।

परिवारका आफन्तको अनुरोधमा ट्रेकिङ गाइड गर्ने शेर्पाहरूको टोलीले घट्टेखोलादेखि टिमुरेसम्मको क्षेत्रमा स्थलगत खोजी गरिरहेको छ।

सेनाका सुरक्षा बेसमा समेत क्षति
बाढीले नुवाकोट र रसुवामा रहेका नेपाली सेनाका सुरक्षा बेसमा समेत क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार देवीघाट, टिमुरे, स्याफ्रुबेसी तथा मैलुङ क्षेत्रमा तैनाथ सुरक्षा बेस प्रभावित भएका छन्।

बाढीले ती सुरक्षा बेसबाट हातहतियार, गोलीगठ्ठा, सैनिक सामग्री तथा उपकरणसमेत बगाएको जनाइएको छ।

पुनर्निर्माणमा कोरियाको सहयोग
बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनामा दक्षिण कोरियाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच भएको छलफलमा कोरियाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

कोरियाले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको बताउँदै जलवायुजन्य विपद्का विषयमा नेपालसँग सहकार्य गर्ने जनाएको छ।

नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट वित्तीय सहयोग प्राप्त गर्न उठाउँदै आएको मुद्दामा समेत कोरियाले आफ्नोतर्फबाट आवाज उठाउने प्रतिबद्धता जनाएको छ।

राष्ट्रिय शोकका बीच बाढी प्रभावित परिवारका लागि भने चुनौती अझै सकिएको छैन। बेपत्ता आफन्तको खोजी, शव पहिचान, राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि राज्यको निरन्तर सहयोग आवश्यक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय