चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत विभिन्न स्थानमा सडक भासिएर आवतजावत अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुर विमानस्थलबाट काठमाडौँतर्फ हुने उडानको संख्या दोब्बरभन्दा बढी पुर्याइएको छ।
भरतपुरबाट काठमाडौँका लागि हाल बुद्ध एयरका जहाजले मात्र उडान गर्दै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुने गरेकामा सडक अवरुद्ध भएपछि उडान संख्या बढाएर दैनिक नौदेखि ११ वटासम्म पुर्याइएको छ।

भरतपुर–काठमाडौँ रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। जहाजको क्षमता ७२ यात्रुको भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले क्षमताअनुसार यात्रु बोक्न नसक्ने जनाइएको छ। काठमाडौँबाट भरतपुर आउँदा ६५ देखि ७० यात्रु र भरतपुरबाट काठमाडौँ जाँदा करिब ५० यात्रु बोक्ने गरिएको छ।
कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिने भए पनि वर्षायाममा सडकको अवस्था जोखिमपूर्ण हुने भएकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन्।
भरतपुरबाट काठमाडौँ जाने यात्रु चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत आउने गरेका छन्। सडक यातायात प्रभावित भएपछि यी जिल्लाबाट समेत हवाई यात्रुको चाप बढेको एयरलायन्सले जनाएको छ।
यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै उडान संख्या बढाएर आवतजावतमा सहजीकरण गरिएको बुद्ध एयरले जनाएको छ।

