काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरेका छन्। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार मन्त्री कार्कीले प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गरेका हुन्।

यो सम्झौता कार्यान्वयनमा जानुअघि संसद्ले अनुमोदन गर्नुपर्छ। यसलाई संसद्को सामान्य बहुमतले अनुमोदन गर्नसक्ने व्यवस्था रहेको छ।
२६ माघ २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो। त्यसपछि ३० असार, ३०७६ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न संसद्मा दर्ता गरेका थिए। तर, राजनीतिक दलबीचको मतभिन्नताले अहिलेसम्म संसद्मा टेबल हुन सकेको थिएन।

