काठमाडौँ । के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनु भएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ ।
हिजो एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परिक्षणकालिन अबस्थामा रहेका लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्समार्फत स्क्यान गरि सजिलै नक्कली-सक्कली छुट्याउन सक्ने बताए ।
उनले एक बर्षे परिक्षणकालको अबधिमा पाँच पटक भन्दा बढि ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्राबधान रहेको समेत जानकारी दिए ।
महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अबोप्रान्त आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाईल एप्स मार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताए ।
उहाँले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरि लाईसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिए । कोही कसैले नक्कली लाईसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने विश्वास ब्यक्त गरे ।
कसरी काम गर्छ त, एप्सले ?
विशेष प्रकारको मोबाइल एप्समार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स भेरिफाई गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्समार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

