काठमाडौं । पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
श्रेष्ठविरुद्ध साढे ४ करोड बढी बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले ४ करोड ४५ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।

पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए । उनलाई सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग छ ।
२०२६ साल चैत १८ गते शिक्षक पेशाबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठ पेशा परिवर्तन गरी २०३६ सालमा शाखा अधिकृत बन्दै २०६४ सालमा सचिव बनी अवकाश पाएका थिए । श्रेष्ठ त्यसपछि २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकूद मन्त्री बनेका थिए ।
सरकारी सेवा र मन्त्री बन्दाको अवधिमा कूल आर्जन ६ करोड ९० लाख १६ हजार ६ सय २७ गरेकोमा ४ करोड ४५ लाख २७ हजार ६६४ रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
‘निजले नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको छ,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ ।
अख्तियारले श्रेष्ठकी श्रीमती र छोरालाई पति प्रतिवादी बनाएको छ ।

