काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहरूमा नेतृत्व विकास गर्ने चुनौती रहेको बताउनुभएको छ । महिला सुरक्षा दबाब समूहले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित राजनीतिक पार्टीहरूमा महिला नेतृत्व, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा बोल्दै मन्त्री झाँक्रीले महिलाहरू गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको बताउनुभयो । महिलाहरूले राजनीतिक रूपमा र राज्यको विभिन्न क्षेत्रमा अवसरहरू पाएको उल्लेख गर्दै उहाँले अब महिलाहरूमा नेतृत्व विकासको चुनौती रहेको बताउनुभयो । महिलाहरूले आ–आफ्नो ठाउँबाट कुशलतापूर्वक जिम्मेवारी बहन गरेर देखाउनुपर्ने उहाँको भनाइ थियो । ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ महिला समूहले उक्त अन्तरक्रिया आयोजना गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले नेतृत्वमा पुग्दासमेत महिलाहरूको नेतृत्वलाई अझै सहज रूपमा स्वीकार गर्न नसक्नु दुखद भएको टिप्पणी गर्नुभयो । महिला अधिकारको कुरा गर्दा काठमाडौंलाई मात्र हेरेर नहुने भन्दै उहाँले गाउँघर र दूरदराजका समस्याहरूलाई समेत सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । संस्थाको संस्थापक सदस्य दुर्गा घिमिरेले ११२ वर्ष अघिबाट सुरु भएको आन्दोलनले निकै उपलब्धि हासिल भएको बताउनुभयो । राजनीतिमा महिलाहरूको संख्यात्मक वृद्धि भए पनि गुणात्मक रूपमा अगाडि बढ्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ । त्यस्तै, समूहकी संस्थापक सदस्य तथा निवर्तमान अध्यक्ष सावित्री थापाले आज पनि महिला अधिकार पूर्णरूपमा सशक्त हुन नसकेको बताउनुभयो । आज महिलाहरूको जुन प्रकारको सहभागिता भएको छ, त्यसमा महिला सुरक्षा दबाब समूहको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले महिलाहरूमा चेतनाको अभाव रहेको बताउनुभयो । शिक्षा सबैको पहँुचमा पुग्न नसक्नु गम्भीर रहेको उहाँको तर्क छ । राष्ट्रियसभा सदस्य जयन्ती राईले अधिकारको कुरा गर्दा आज महिलाहरू अधिकार लिने मात्र नभई दिने ठाउँमा पुगेको बताउनुभयो । माओवादी केन्द्रकी नेतृ अमृता थापाले महिला अधिकार प्राप्तिका लागि धेरै महिलाहरूको संघर्ष र योगदान रहेको स्मरण गर्दै त्यसलाई जोगाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
यसैगरी, महिला सुरक्षा दबाब समूहकी महासचिव विजया श्रेष्ठ केसीले २०७४ को स्थानीय तहको चुनावमा महिलाहरूको नेतृत्व तहमा कम सहभागिता भएको बताउनुभयो । देश चुनावको संघारमा रहेको अवस्थामा स्थानीय तहको चुनावमा महिला सहभागिता अझै बढाउनुपर्नेमा उहाँको जोड छ । अध्यक्ष कल्याणी शाहले महिला अधिकारको आन्दोलनमा सबैको समान सहभागिता रहनुपर्नेमा जोड दिनुभयो । एकै घरका श्रीमान् श्रीमतीलाई पनि पद वितरणमा विभेद गरिनु नहुने उहाँको भनाइ थियो ।

