काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरी स्थानीय तह केन्द्रित एक महिने प्रचार–प्रसार अभियान घोषणा गरेको छ ।

काँग्रेसले केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यही फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।

नेपाली काँग्रेसको नेतृत्वमा हासिल भएका राजनैतिक तथा आर्थिक उपलब्धिबारे जनतालाई जानकारी गराई पार्टीका उमेद्वारहरुको पक्षमा मतदानका लागि आग्रह गर्न अभियान सञ्चालन गर्न लागेको नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले जानकारी बताउनुभयो ।

डा. महतले अमेरिकी सहयोग परियोजना एमसिसी लगायतका विभिन्न राष्ट्रिय महत्त्वका मुद्दामा जनतामा रहेको भ्रमहरूको निवारण गरी सत्य तथ्य जानकारी दिन पनि अभियान केन्द्रित रहने बताउनुभयो ।

अभियानका क्रममा ७७ वटै जिल्लामा पार्टीले केन्द्रीय प्रतिनिधिहरू खटाउने तथा सबै स्थानीय तहमा कम्तीमा एक पटक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा कार्यक्रम हुनेछ ।

नेपाली काँग्रेसको सबै प्रदेश तथा जिल्ला स्तरीय समितिहरू, एवं भातृ सङ्गठन र शुभेच्छुक सङ्घ–संस्थाहरूलाई जिम्मेवारी तोकी अभियानमा सहभागी गराउने प्रवक्ता डा. महतले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय