काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ ।
प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा सङ्क्रमण विभिन्न जिल्लामा फैलिरहेको छ । बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पनि सचिव पाण्डेले बताउनुभयो ।

सङ्क्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो ।
बर्डफ्लुका कारण काठमाडौँमा १९ हजार ५०६ वटा पक्षी, पाँच हजार ६५२ वटा अण्डा र चार हजार १०८ किलो दाना नष्ट गरिएको छ । त्यस्तै चितवनमा नौ हजार ६७० पक्षी, दुई हजार ३८६ वटा अण्डा, एक हजार ५०० किलो दाना, भक्तपुरमा २४ हजार ३१९ वटा पक्षी, १३ हजार ९० वटा अण्डा, दुई हजार ९०० किलो दाना, मकवानपुरमा ३१६ वटा पक्षी, १६ वटा अण्डा, ८२ किलो दाना, ललितपुरमा दुई हजार २६२ वटा पक्षी, ९०० किलो दाना र सिन्धुपाल्चोकमा दुई हजार १८ वटा पक्षी र एक हजार ९५० किलो दाना नष्ट गरिएको छ ।
छ जिल्लामा बर्डफ्लुका ५७ हजार ११४ वटा विभिन्न जातका कुखुरा नष्ट गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव पाण्डेले उल्लेख गर्नुभयो । उहाँले क्षति बेहोरेका कृषकलाई सङ्घीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको बताउनुभयो ।

