काठमाडौँ । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधवार बसेको संवैधानिक इजलासले संवैधानिक परिषद् लगायतका निकायमा नियुक्तिको आधार र कारण पेश गर्न विपक्षीलाई आदेश दिएको हो ।

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र ईश्वरप्रसाद खतिवडाको इजलासले आज गरेको सुनवाइपछि विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
संवैधानिक परिषद् अध्यादेश मार्फत तत्कालीन केपी शर्मा ओली सरकारले विभिन्न आयोगका प्रमुख तथा पदाधिकारी नियुक्त गरेको थियो । उक्त नियुक्ति बदर गर्न माग गर्दै रिट परेको थियो ।
संवैधानिक इजलासले अधिवक्ता द्वय गणेश रेग्मी र दीपक विक्रम मिश्रको रिट खारेज गरिदिएको छ । अधिवक्ता रेग्मी प्रधानन्यायाधीश विना संवैधानिक इजलासको काम कारबाही रोक्न माग दाबी गर्दै र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविना संवैधानिक इजलास सञ्चालन गर्न नहुने माग राखेर रिट निवेदन दिनुभएको थियो
संवैधानिक इजलासले गत शुक्रवार हेर्दाहेर्दैमा राखेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति विरुद्धको रिट निवेदन र प्रधानन्यायाधीशविना संवैधानिक इजलास रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनहरूको एक साथ सुनुवाइ अघि बढाएको थियो ।

