काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसाय संघ चितवनमा आयोजना गरेकोे पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी तथा कृषि कर्जा मेला २०७८ उद्घाटन गर्दै उक्त चेतावनी दिनुभएको हो ।

गभर्नर अधिकारीले कृषिप्रधान देश भन्ने तर देशको अर्थतन्त्र रेमिट्यान्समा भर पर्नु उचित नहुने भन्दै यसलाई सुधार्न आवश्यक रहेको बतानउनुभयो । किसानले सहजै ऋण पाउनेगरी अहिले वैँकहरुले दिइरहेको ११ प्रतिशत कृषि कर्जा बढाएर १५ प्रतिशत पुर्याइने उहाँको भनाई थियो । कुनै समय जोखिम कर्जा मानिने यो कर्जा अहिले मुख्य कर्जाको रुपमा वैँकहरुमा आउनु सुखद भएको र अझै सुधार गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा १२ बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति थियो । उनीहरुले कृषि कर्जा नपाएकै कारण उत्पादन कम भएको भन्ने भ्रममा नपर्न आग्रह गर्दै किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन सरकारलाई सुझाव दिएका थिए ।

