काठमाडौँ । विश्वव्यापी रुपमा कोइलाको आयात निर्यातमा आएको सङ्कट तथा व्यापक मूल्य वृद्धिको असर नेपालको ऊर्जा प्रणालीमा पनि देखिएको छ ।
सुक्खा मौसममा नेपालको नदी नालामा पानीको मात्रा कम हुने भएकाले बिजुलीको उत्पादन असाध्यै न्यून बिन्दुमा पुग्छ । सोही आधारमा नेपाल विद्युत् प्राधिकरणले कूल ४०० मेगावाट बराबरको बिजुली भारतबाट खरिद गर्दैआएको छ ।

द्विपक्षीय सम्झौताका आधारमा नेपालमा आयात भइरहेको बिजुली दिन असमर्थ रहेको भन्दै भारतले जनाएपछि प्राधिकरण दैनिक रुपमा हुने प्रतिस्पर्धी बजारबाट खरिद गर्ने अवस्थामा पुगेको हो ।
त्यसलाई ‘इनर्जी एक्सचेञ्ज मार्केट’ भनिन्छ । शेयर बजारमा जस्तै हरेक १५-१५ मिनेटमा सो एक्सचेञ्जमा बिजुलीको भाउ निर्धारण हुन्छ । त्यस आधारमा २४ घण्टालाई ९६ ब्लकमा विभाजन गरिन्छ ।
भारतको सो एक्सचेञ्ज मार्केटमा प्रतियुनिट बिजुलीको भाउ २० भारतीय रुपैयाँसम्म पर्छ । यस आधारमा नेपालमा आयात हुने बिजुलीको मूल्य बजारमा रु ३२ पर्न जान्छ । त्यसमा प्रसारण शुल्क, प्रसारण प्रणालीमा नोक्सानी, एजेन्सी कमिशनलगायत गर्दा प्रतियुनिट रु ३८ सम्म पर्न गएको छ ।
भारतको झण्डै ६० प्रतिशत बढी ऊर्जा उत्पादन कोइलाबाट हुने गरेको छ । रुस र युक्रेनबीचको संघर्ष तथा अन्तर्राष्ट्रिय बजारमा कोइलामा भएको मूल्य वृद्धिका कारण भारतको ऊर्जा उत्पादनमा ठूलो असर परेको छ । भारतमा कोइलाबाट बिजुली उत्पादन गर्ने टाटा पावरले राजधानी नयाँ दिल्लीलगायत स्थानमा बिजुली कटौती हुन सक्ने चेतावनी दिएको छ ।
यी विभिन्न कारणले नेपालमा आयात भइरहेको बिजुली एक्कासी घट्दा सुक्खायाममा सङ्कट देखा परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो तत्कालको समस्या हो ।
आगामी डेढ महिनापछि हाम्रै प्रणालीमा खेर जाने गरी बिजुली उपलब्ध हुन्छ ।” कोइलाको मूल्य वृद्धि तथा बिजुलीको भाउमा भएको अस्वाभाविक परिवर्तनका कारण नेपाललाई तत्काल असर देखिएको उहाँले बताउनुभयो । बढी मूल्य तिरेर नै भए पनि उद्योगीलाई बिजुली उपलब्ध गराइने उहाँको भनाइ छ ।
“यो अल्पकालीन समस्या हो । दीर्घकालीन होइन । हामीले उद्योगी व्यवसायीलाई पनि सहयोगका लागि आग्रह गरेका छौँ । उहाँहरुले पनि सकारात्मक जवाफ दिनुभएको छ”, घिसिङले भन्नुभयो ।
भारतीय इनर्जी एक्सचेञ्जमा आएको बिजुलीको मूल्यको परिवर्तनका कारण कूल रु आठ अर्ब बराबरको थप व्ययभार पर्ने उहाँको भनाइ छ । नेपालले केही दिन अघिसम्म प्रतियुनिट आठ भारुमा बिजुली खरिद गरेको थियो । सामान्य अवस्थामा प्रतियुनिट दुई भारुमा बिजुली आयात भएको थियो ।

