काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उहाँहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गर्नुभएको थियो । नेपाली काङ्ग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धबारे पनि उहाँहरूबीच विचारविमर्श भएको छलफलमा सहभागी परराष्ट्रमन्त्री डा नारायण खड्काले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव हुनुहुन्थ्यो ।

आजै साँझ प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले यहाँस्थित नेपाली दूतावासमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ । १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुंहुने छ भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय