रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे तराई मधेशको जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको संरक्षणमा सबै सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिएकी छन् । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा रौतहटको माधवनारायण नगरपालिका–३ मा निर्मित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चुरे क्षेत्रले तराई मधेसको पर्यावरण सन्तुलन एवं भूमिगत जलश्रोतको पूर्नभरणको आधार भएकाले यसको संरक्षणमा सबै एक भएर लाग्नुपर्ने बताएकी हुन् ।
‘चुरे क्षेत्र जोगाउन सकेमात्र हामीले नेपालको प्राकृतिक सन्तुलन जोगाउन सक्छौँ’, उनले भनिन्, ‘त्यसैले यसको संरक्षणमा सबैले गम्भीर भएर लाग्नुपर्दछ ।’ त्यस्तै उनले कृषिको प्रचुर सम्भावना भएको तराई मधेशका क्षेत्रमा किसानलाई सिंचाइ, मलखाद , विउविजनको सुनिश्चिता गर्न सके सम्पूर्ण राष्ट्रलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन यस क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास व्यक्त गरिन् ।

माछा उत्पादनमा ठूलो सम्भावना रहेको यस क्षेत्रमा माछापालनलाई व्यवसायिक गर्न सके मुलुकलाई माछामा आत्मनिर्भर बनाएर स्थानीयको आर्थिक सामाजिक विकास गर्न सकिने उनको भनाइ छ । स्वर्गीय गजेन्द्र नारायण सिंहको योगदानहरुलाई चिरस्थायी राख्न मधेश प्रदेशको करिब मध्य भागको रौतहटमा सञ्चालनमा आएको सो अस्पतालले यस क्षेत्रका जनतालाई भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध हुने उनले विश्वास व्यक्त गरिन् ।

