काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई लाने सहमति भएको छ। गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसमा भने गठबन्धनको विषयलाई लिएर विवाद बढ्दो छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रमा सहमति बने पनि तल्लो तहमा लागू गर्न समस्या परेपछि कांग्रेसमा विवाद बढेकाे हाे।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापन पक्ष गठबन्धनको पक्षमा उभिए पनि पार्टीभित्रबाटै चर्को दबाव छ। नेता डा. शेखर कोइराला पक्षले देउवालाई गठबन्धन तोड्न दबाव दिँदै गर्दा देउवाले पेलेरै भए पनि पार्टीभित्र गठबन्धन गर्ने निर्णय गराए। ०७४ साल झैँ आफूले गठबन्धन तोडे माओवादी फेरि एमालेसँग मिल्ने त्रासले देउवा सचेत छन्। त्यसो त देउवाले माओवादी केन्द्रको अस्तित्व रक्षाका लागि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको आफूसँग बताएको नेता शशांक कोइरालाले बताएका थिए।

‘माओवादीका बचेका साथीहरूलाई अस्तित्व जोगाउन कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ। हामीले सम्बन्ध गाँसेनौँ भने उनीहरू एमालेसँग मिल्न जान्छन्’‚ शनिबार नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनेका थिए‚ ‘अघिल्लो चुनावमा जस्तो एमाले र माओवादी मिलेपछि हामी २३ सिटमा झरेका थियौँ। त्यस्तै होला कि भन्ने उहाँको (देउवा) चिन्ता थियो। जुन स्वाभाविक चिन्ता हो‚ म पनि स्वीकार गर्छु।’

देउवाले केन्द्रमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गराएको भए पनि तल्लो तहमा कार्यान्वयनमा समस्या पर्दै गएकाे छ। मुख्यगरी गठबन्धनमा महानगरको भागबण्डाकै मुख्य सकस पर्ने भएको छ। सबै दलले महानगरमा आ-आफ्नो दाबी गरेपछि गठबन्धनमा भागबण्डाको सकस परेको हो।

गठबन्धनले स्थानीय तहको निर्वाचनको भागबण्डाको लागि मोडालिटी समेत तयार गरेको छ। मोडालिटीअनुसार केन्द्रले एकथरी निर्णय लादे पनि जिल्ला तहबाट विद्रोह गर्ने चेतावनी दिन थालिसकेका छन्। प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयरमा दोहोर्‍याउने चाहनासहित आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् तर भरतपुर महानगर आफूहरूले छाड्न नसक्ने भन्दै जिल्ला तहका नेताहरूले पटक पटक देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत ध्यानाकर्षण गराइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय