काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गए पनि सत्तारूढ गठबन्धन दलहरूबीच चुनावी तालमेलको विषय झनै पेचिलो बन्दै गएको देखिन्छ । स्थानीय तहको निर्वाचन आउन केवल २६ दिन बाँकी रहँदासम्म सत्तारूढ दलले भागबन्डाको टुंगो लगाउन सकेका छैनन् । सत्ता गठबन्धन दलहरूले देशभर आवश्यकताका आधारमा चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय यसअघि नै गरेका थिए । सोहीअनुसार दलहरूले तल्लो तहसम्म छुट्टाछुट्टै सर्कुलरसमेत जारी गरिसकेका छन् । तर, हालसम्म दलहरूबीच नै ठोस सहमति जुट्न सकेको छैन ।

खासगरी महानगरपालिका र उपमहानगरमा भागबन्डा मिल्न नसक्दा अन्योलको स्थिति सिर्जना भएको देखिन्छ । चुनावी तालमेलको विषयमा छलफल गर्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । तर, उक्त बैठकले पनि कुनै ठोस निश्कर्ष निकाल्न सकेन । खासगरी सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका जिल्लास्तरका नेता÷कार्यकर्ता चुनावी तालमेलप्रति सकारात्मक देखिएका छैनन् । स्थानीय स्तरदेखि नै विरोध आउन थालेपछि चुनावी तालमेलको विषय थप पेचिलो बन्दै गएको हो ।

आइतबार बसेको शीर्ष नेताहरूको बैठकले सोमबार निर्वाचन तयारी तथा अनुगमन संयन्त्रसँग छलफल गरेर ठोस निर्णय गर्ने सहमति गरेको छ । बैठकले सकेसम्म सोमबार नै महानगर र उपमहानगरहरूमा तालमेलको विषय टुंग्याउने सहमति गरेको बताइएको छ । शीर्ष नेताहरूको छलफलपछि आइतबार नै निर्वाचन तयारी तथा अनुगमन संयन्त्रको बैठक पनि बसेको थियो । सत्तारूढ गठबन्धन दलहरूले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र गठन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय