काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र प्रधानसेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी माग गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसदमा जारी बजेटमाथिको छलफलका क्रममा सेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे प्रश्न उठाएका हुन् ।

उनले अमेरिकी अधिकारीहरुको बढ्दो नेपाल भ्रमणबारे समेत असन्तुष्टि जनाएका छन् । गुरुङले संसदमा भनेका छन् ‘अहिलेको सुरक्षा संवेदनशिलतामा प्रधानमन्त्री र प्रधानसेनापतिको भ्रमण आवश्यक छैन। यो कुरालाई ध्यानमा राखेर भ्रमण स्थगित गर्नुपर्छ । ’

पूर्वमन्त्री समेत रहेका गुरुङले भ्रमणका क्रममा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सम्झौता हुनसक्ने आशंका समेत गरे । उनले सकभर भ्रमण स्थगित गर्न सुझाव दिंदै यदी जानैपर्ने अवस्थामा कुनै पनि सम्झौता अमेरिकासंग नगर्न चेतावनी दिए ।

अमेरिकाले पछिल्लो समय क्वाडलगायतका फोरमहरु बनाएर सैन्य नीतिमा जोड दिएको भन्दै गुरुङले नेपालले शान्तिपूर्ण नीतिलाई ध्यानमा राखेर रक्षा र सैन्य कुटनीति सञ्चालन गर्नुपर्ने धारणा राखे ।

प्रधानसेनापति प्रभुराम शर्मा असार १३–१७ गतेसम्म अमेरिका भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री देउवा पनि मध्य असारमै अमेरिकाको औपचारिक भ्रमणमा जाने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय