काठमाडाैं । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेनाले संचालन गरेको “अभ्यास हातेमालो-४” २०७९ जेठ ३१ गते जंगी अड्डास्थित सभामण्डप हलमा प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
उक्त समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधान सेनापति शर्माबाट विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न अभ्यास/गतिविधि सञ्चालनको मुख्य उद्देश्य सहित सञ्चालन भएको सो अभ्यास उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरेका छन् ।

सोही क्रममा प्रधान सेनापति शर्माले, विभिन्न समयमा आईपर्ने विभिन्न प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय चुनौतीका साथै सुरक्षा चुनौती समेत रहने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने भएकाले एक आपसको समन्वय तथा सहकार्यमा एकिकृत ढंगले अगाडी बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने बताएका छन् ।
मन्तव्यकै क्रममा प्रधान सेनापति महारथी शर्माले, विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनको लागि नेपाली सेनाले राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय स्थापना गरेको तथा विपद् व्यवस्थापन कार्यलाई थप टेवा पुर्याउन “International Search and Rescue Advisory group” (INSARAG) ले तोकेको मापदण्ड बमोजिमको एउटा “Medium Urban Search and Rescue Team” को राष्ट्रिय प्रमाणिकरण प्रकृयाको सुरुवात भएको जानकारी गराउदै उक्त अभ्यासमा सहभागी मन्त्रालय, सरकारी तथा गैह्र सरकारी निकाय, सहजकर्ता तथा सहभागी सम्पूर्ण प्रति आभार प्रकट गरिएको थियो ।
२०७९ जेठ ३० गते बलाध्यक्ष रथी सरोज प्रताप राणाबाट शुभारम्भ गरिएको उक्त दुई दिवसीय अभ्यासको दौरान विपद् व्यवस्थापन सम्बन्धी विविध विषयहरुमा प्रस्तुतिकरणसहितको छलफल तथा अन्तर्क्रिया र Tabletop Exercise संचालन गरिनुका साथै जङ्गी अड्डा परिसरमा फायर फाइटिङ्गको डेमोन्ष्ट्रेशन एवं विभिन्न विपद्को दौरान प्रयोग हुने विपद् व्यवस्थापन सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।
उक्त अभ्यासमा, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, विभिन्न मन्त्रालय, प्राधिकरण, विभाग र कार्यालयका सह सचिवहरु, प्रदेशस्थित विभिन्न निकायहरुका प्रमुख एवं प्रतिनिधिहरु, गैह्र सरकारी संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरु लगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।
विपद् व्यवस्थापन कार्यमा प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न सरकारी एवं गैह्रसरकारी निकायहरुलाई सहभागी गराई संचालन हुने यस किसिमका संयुक्त अभ्यासहरुले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायहरुको क्षमता अभिवृद्धि भई विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

