काठमाडौं । नेपाली व्यायाम खेल क्षेत्रका वरिष्ठ प्रशिक्षक उदयबहादुर श्रेष्ठ अवार्डबाट सम्मानित हुनुभएको छ । शनिबार हिमालय जिम सेन्टरले स्थापनाको २५औं वार्षिकोत्सवमा श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षकका रूपमा सम्मान गरिएको हो । विगत तीन दशकदेखि व्यायाम प्रशिक्षकको रूपमा अनवरत कर्म गर्दै आएका प्रशिक्षक श्रेष्ठलाई एक कार्यक्रमकाबीच हिमालय जिम सेन्टरले सम्मान गरेको हो ।
उहाँलाई मुख्य अतिथि नेपाल बडी बिल्डिङ संघका पूर्वअध्यक्ष तथा नेपाली बडी बिल्डिंगका पहिलो अन्तर्राष्ट्रिय निर्णायक रमेशनाथ खनाल र क्लबका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकृष्ण श्रेष्ठले ट्रफी र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । सोही अवसरमा १६औं धर्मश्रीअन्तर्गत महिला फिजिक्स इभेन्टतर्फ उपविजेता बन्न सफल लुना श्रेष्ठ पनि अक्सफोर्ड जिम एन्ड फिटनेसले सम्मान गरेको थियो । श्रेष्ठलाई मुख्य अतिथि खनाल तथा अक्सफोर्ड जिम एन्ड फिटनेसका सञ्चालिका निर्मलादेवी श्रेष्ठले ट्रफी तथा प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

उक्त कार्यक्रम हिमालय जिम सेन्टर र अक्सफोर्ड जिम एन्ड फिटनेसले संयुक्तरूपमा आयोजना गरेको थियो । त्यसैगरी काठमाडौ महानगर पालिका वडा नं २८ हालै सम्पन्न स्थानीय निर्वाचनमा जीत हासिल गरेका वडा अध्यक्ष भाईराम खड्गी लगायत अन्य सदस्यलाई सम्मानित गरिएको थियो । रक्तदान समेत गरिएको उक्त कार्यक्रममा प्रेमसागर कर्माचार्यले आफ्नो जीवनमा एक सय ७० पटक रक्तदान गरेको वताउनुभएको थियो । कार्यक्रममा वोल्दै रक्तदान गर्नाले निकै हल्का र ताजा भएको महसुस भएको बताउनुभएको थियो । उहाँले निरन्तर रुपमा रक्तदान गर्न प्रोत्साहन समेत गर्नुभयो ।

