काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् ।

उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुुलुकको अर्थतन्त्र लयमा आउने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए ।

श्रीलंकाले लिटेसँग लडाइ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेको भन्दै गनर्भर अधिकारीले नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था हुने दाबी गरे ।

उनले भने, ‘अब जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिटेन्स आएको छ । त्यो पैसाले आयात गरेका छौं । त्यो खाँचो छ । उत्पादन छैन । नेपालमा भएको डलर पनि सिध्याउँदै जान्छौं । आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुप¥यो नी ? त्यो योजना हाम्रो हुनुप¥यो । त्यति गर्न सकेनौं । त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाएझंै गयो भने हामीलाई भोलि समस्या पर्छ । त्यस कारण हामी सबै शतर्क र सजक रहौं भने हाम्रो अर्थतन्त्रलाई ठाउँमा नै राख्न सक्छौं । जनताले दुःख गरेर ल्याएको सम्पति बैंक तथा वित्तीय क्षेत्रलाई जिम्मा दिएका छन् । त्यसलाई हामीले सही सदुपयोग गरेर आन्तरिक उत्पादन बढाउनतिर लगाउनु प¥यो ।’

उनले थपे, ‘त्यो गरियो भने दैनिक आयात गरेर खानुपर्ने समस्या अन्त्य हुन्छ । तर यस्ता कुरालाई इग्नोर गरौं भने आजको दिन सम्झनुुस् । हिजो लिटेसँग लडाई गर्दा पनि नभएको चुनौती अहिले श्रीलंकाली जनतामा भएको छ । त्यो लेभलको समस्या भोगेर बस्नुभएको छ । हामी यो कुरामा सच्चै शतर्क हुन जरुरी छ । मौद्रिक नीति देश र समग्र अर्थतन्त्रलाई शिरमा राखेर बनाउने छौं ।’

गनर्भर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताए । उनले मौद्रिक नीति राष्ट्र बैंकको उदेश्य अनरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए । गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले दिएको मार्ग दिएको बताए ।

उनले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको र अझै बढ्नसक्ने बताए । गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बढेको ब्याजदरमा सबैले स्वीकार्नुपर्ने बताए । उनले अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरु सबैजना आआफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको शंकटको सामना गर्न सकिने जिकिर गरे । उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय