काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अब कसरी अघि बढ्ने भन्नेबारे दुई प्रस्ताव अघि सारेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवसँग अलग हुने सहमतिपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा आफूपक्षीय भेलामा दुई प्रस्ताव पेश गरेका हुन् ।
उनले प्रस्तावमा भनेका छन्, ‘विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्ति व्यक्तित्व मिलेर हामीले जसपा निर्माण गरेका थियौं, त्यसको औचित्य र आवश्यकता झनै टड्कारो भएको छ। पार्टीको कानुनी वैधता निरूपण गर्ने आफ्नै प्रक्रिया छ। त्यो काम निर्वाचन आयोगले गर्दै गर्ला। पार्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको– दुबै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ।’

समुन्नत संघीय समाजवादको सिद्धान्तमा आधारित प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको वैकल्पिक राष्ट्रिय राजनीतिक दल निर्माण गर्नु, यसको संगठनात्मक शक्ति र आन्दोलनमार्फत जनताको पहिचान, अधिकार, समावेशिता, सुशासन, आर्थिक विकास, समृद्धि र समाजवादको अपेक्षा पूरा गर्नु जसपाको मूल ध्येय भए पनि सफल हुने नसकेको उल्लेख गरेका छन्।
‘हामीसँग जसपाको वैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ। पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो। तसर्थ यो विषयमाथि गम्भीर, सघन र विहंगम विचार, विमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु’‚ उनले भनेका छन्, ‘छलफलका लागि हाम्रा सामु दुई विकल्प हुन सक्छन्। एक– नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने, दुई– विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने।’

