काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तागठबन्धन पुरै असफल भएको बताएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै एमालेले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा सरकार पूरै असफल भएको बताएको हो ।

संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकार पूरै असफल भएको निष्कर्ष निकालेको छ ।

एमाले सचिव योगेश भट्टराईले संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारको भूमिका कमजोर भएको बताएका हुन् ।

एमालेले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रमा जम्मा बजेटको ७१ प्रतिशत चालु र २९ प्रतिशत पुँजिगतमा छुट्याइएको छ । यसले प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था पुयाउने प्रतिबद्धता पूरा हुन्छ त ? ३९६ वटा आधारभूत अस्पताल निमार्णका लागि पूर्ववर्ती सरकारले ५७ अर्ब बजेट सनिश्चित गरेको थियो । यो सरकारले त्यसको अधिकांश बजेट कटौति गरेको छ । आधारभूत अस्पताल सेवाको प्रबन्धबिना मौलिक हकको कार्यान्वयन कसरी हुन्छ ? त्यसैगरी पुराना र नयाँ बनेका अस्पतालमा जनशक्तिको यथोचित व्यवस्थापन गर्न नसक्दा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा जनताको अधिकार भन्ने संविधानको व्यवस्थालाई बेवास्ता गरिएको छ ।’

स्वास्थ्य बजेटमा सरकारी ढुकुटी ७१ प्रतिशत, वैदेशिक ऋण २३ प्रतिशत र बैदेशिक अनुदान ६ प्रतिशत रहेको भन्दै स्वास्थ्य जस्तो सामाजिक क्षेत्रमा कुन नीतिका आधारमा वैदेशिक ऋण वृद्धि गर्दै गएको छ ? भन्दै भट्टरलाईले प्रश्न गरे । उनले भने, ‘अहिले बीमाको लागि तोकिएका अधिकांश अस्पतालहरूले विमितहरूको उपचार गर्न छाडेका छन् । सुनिदै छ, सरकारले चालूआर्थिक वर्षमा भएको उपचार खर्चको समेत भुक्तानी दिएको छैन ।’

‘हुनेले–नहुनेलाई, निरोगीले रोगीलाई र उत्पादक उमेर समूहले आश्रृतलाई सहयोग गर्ने समाजवादी सोच बोकेर ल्याइएको स्वास्थ्य बीमा ऐन,२०७४ लाई नियोजित रूपमा निस्तेज पारिएको छ । निजामती, सुरक्षा अंग र शैक्षिक क्षेत्र लगायत सबै औपचारिक क्षेत्रलाई बीमाको दायरामा ल्याउने बीमा ऐन, २०७४ को अवधारणा कार्यान्वयनमा सरकार असफल भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय