काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् । अख्तियारका अनुसार आर्थिक वर्ष ०७८/७९ मा ती उजुरी परेका हुन् । सो अवधिमा कुल २४ हजार २ सय ४१ वटा उजुरी परेको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष ०७८÷७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १ सय ४८ र अघिल्लो आर्थिक वर्ष ०७७÷७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी २४ हजार २ सय ४१ उजुरी परेको जानकारी अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले दिए ।

‘कुल २४ हजार २ सय ४१ उजुरीहरू रहेको मध्ये १७ हजार ९८ उजुरी फस्र्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिब ७० दशमलव ५३ प्रतिशत हुन आउँछ’, प्रवक्ता भण्डारीले भने । आर्थिक वर्ष ०७७÷७८ मा भन्दा आर्थिक वर्ष ०७८÷७९ मा १ हजार ६ सय १६ उजुरी बढी परेका छन् ।

गत आर्थिक वर्ष अख्तियारमा भ्रष्टाचारसम्बन्धी कुल २२ हजार ६ सय २५ वटा उजुरी परेका थिए । आर्थिक वर्ष ०७७÷७८ मा परेका कुल उजुरीमध्ये १४ हजार ५ सय ३२ वटा (६४ दशमलव २३ प्रतिशत) उजुरी फस्र्यौट भएका थिए ।

हरेक वर्ष अख्तियारमा भ्रष्टाचारसम्बन्धी हजारौँको संख्यामा उजुरी पर्ने गर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? प्रवक्ता भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गरेको छ । आर्थिक वर्ष ०७८÷७९ मा ४ हजार ४ सय ९५ वटा उजुरी लिखित निवेदनमार्फत परेका थिए ।

दोस्रो ठूलो उजुरीको स्रोत हुलाक सेवा (चिठी) हो । गत वर्ष हुलाक सेवामार्फत अख्तियारमा भ्रष्टाचारसम्बन्धी २ हजार ७ सय ६० वटा उजुरी परेका थिए । तेस्रो ठूलो उजुरीको स्रोत हो, इमेल । इमेलमार्फत आर्थिक वर्ष ०७८÷७९ मा २ हजार ७ सय ५७ वटा उजुरी परेका छन् ।

प्रवक्ता भण्डारीका अनुसार गत आर्थिक वर्ष समाचारपत्रहरूबाट २ सय ९०, फेसबुकमार्फत ९३, भाइबरबाट १५, आयोगको वेबसाइटबाट २ हजार १ सय ६५, मोबाइल एसएमएसबाट चार, टेलफोनबाट ७ सय ५०, मोबाइल एपबाट १ सय २ र अन्य स्रोतबाट २ हजार ७ सय १७ वटा उजुरी परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय