काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए । अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए ।

त्यस्तै उनले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे । उनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।

अध्यक्ष लिङदेनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए । उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गरे । उनले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गरे ।

उनले भने, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले पूर्णरुपले अभिभावक बिहीन बनेको छ । अहिलेका राजनीति दल जनताको जीउधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जेपनि गरिरहेको छ । भ्रष्टाचार त समान्य विषय भएको छ । बजेट बनाउँदा अनाधिकृत व्यक्ति प्रवेश गराउने व्यापारिक कोही एक घरानालाई प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ ।’

अध्यक्ष लिङ्देनले फेरि भने, ‘नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेका छन् । त्यसकारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउनेहरु, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा सबै एक ठाउँ हुनुपर्ने समय आएको छ । यो पतनको बाटो हो ।’

उनले थपे, ‘यो बाटोका नायकहरुबाट कुनै सुधारको आशा छैन । राजनीतिक परिवर्तनमा समेत परिवर्तन गरेर जान जरुरी छ । भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेपछि मात्रै देशले स्थिरता प्राप्त गर्नसक्छ । यो बाटो नै यो देशको समस्याको समाधानको बाटो हो । यसलाई बलियो ढंगले जनताको बीचमा लैजानुपर्छ । आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जानेछौँ ।’

यसका साथै अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भएपनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गरे । उनले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय