काठमाडौं । प्रहरीले अवैध रुपमा सञ्चालित कल सेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ । तीनकुनेमा रहेको स्काइ वर्ल्ड सर्भिस सेन्टरका नामबाट सञ्चालित उक्त कल सेन्टरमा प्रहरीले आइतबार दिउँसो छापा मारेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ, दुई भारतीय र ३३ जना नेपाली रहेका छन् ।
सोमबार दिउँसो प्रहरीले तीनकुनेस्थित उक्त कल सेन्टरमा छापा मारेको थियो । अवैध तवरले कामदार राखी प्रविधिमार्फत सर्वसाधरणलाई धाक, धम्की दिने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।

छापाका क्रममा प्रहरीले आठ लाख २९ हजार रुपैयाँ बरामद गरेको छ। यस्तै ल्यापटप ३६२ र डेस्कटप कम्प्युटर ७४८ थान बरामद गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमवार रुपन्देहीको तिलोत्तमामा कार्यालय सञ्चालन गरी ठगी धन्दामा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरस्थित एक घरमा तीन वटा फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

